
झापा । झापाको दमक नगरपालिका–१० का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण सुरु गरिएको छ ।
वडा कार्यालयमा आज एक कार्यक्रमका बीच दमक मेयर राम थापा, उपमेयर रेगिना भट्टराई र राष्ट्रिय भुमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले वडा भित्र रहेका भुमिहिनहरुलाई धनिपुर्जाको निस्सा वितरण गर्नु भएको हो ।
दमक वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भुमिहिनहरुलाई निस्सा वितरण गर्दै मेयर थापाले आफुहरु निर्वाचित भएर आए देखि नै पहिलो प्राथमिकतामा राखेर भुमिहिनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको बताउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश १ कोषाध्यक्ष गगन पुरीले १० नम्बर वडामा मात्रै किन चाँडै काम भयो अन्य वडामा किन आयोगको काम अघि बढेको छैन भनि प्रश्न गर्नु भयो । त्यसैगरी कांग्रेस नेता सुरेश सुब्बा, राप्रपाका झापा जिल्ला उपाध्यक्ष बजय बराल, जसपा दमक अध्यक्ष खेम दाहाल, पुर्व वडा अध्यक्ष बोधराज न्यौपाने लगायतले पनि बोल्नु भएको थियो ।