
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ३ मा अवस्थित सरकारी अस्पताल मंगलबारे अस्पतालमा डेढ महिनायता डिजिटल एक्स रे मेसिन बिग्रिदा विरामीहरु मारमा परेका छन । एक्स रे मेसिन बिग्रिएकै कारण बिरामीहरु मंहगो शुल्क तिरेर अन्यत्र जान बाध्य भएका हुन । बिग्रिएको सो एक्स–रे मेसिन मर्मतका लागि सरोकारवालापक्षले गम्भिर ध्यान नदिँदा उपचार गराउनका लागि आउने बिरामी मर्कामा परेका हुन् । जस्ले गर्दा आर्थिक अवस्था कम्जोर भएका तथा बिमा गरेका बिरामीलाई आर्थिक भार थपिएको छ । बढी मात्रामा पूर्वी मोरङका विरामीहरु आउने सो अस्पतालमा डेढ महिना भन्दा बढी समयदेखी डिजिटल एक्स रे मेसिन बिग्रिएपनि मर्मत हुन नसक्दा विरामीहरुलाई आर्थिक भार थपिएको हो ।
उर्लाबारी – २ का नवराज खत्री डेढ महिनाअघि आफ्नो साथीको हातमा समस्या आएर अस्पतालमा जाँदा डाक्टरले एक्स रे गरेर हेरौन भन्नुभयो । तर अस्पतालमा रहेको एक्स रे मेसिन बिग्रिएको थाहा पाएपछि निराश हुँदै नजिकै रहेको निजी क्लिनिकमा गराउन बाध्य हुनुभयो । अस्पताल प्रशासन र व्यवस्थापन समितिको लापरबाहीका कारण विरामीहरुले समस्या भोग्न बाध्य भएको खत्री बताउनुहुन्छ । यति ठुलो सरकारी अस्पतालको एक्स रे मेसिन दुई/चार दिन पो बिग्रिन्छ, खत्रीले भन्नुभयो ” सम्बन्धित निकायले गम्भिर रुपमा ध्यान नदिँदा यो समस्या आएको हो ।”
युएनएचसिआरले मंगलबारे अस्पताललाई करिब डेढ वर्षअघि सो डिजिटल एक्स रे मेसिन उपलब्ध गराएको थियो । सो मेसिन मर्मत गर्ने इञ्जिनियर पूर्वमा नभएकाले समस्या भएको अस्पतालका मेडिकल अधिकृत डा. योगेश मण्डल बताउनुहुन्छ । धरानका इञ्जिनियरलाई सो समस्याबारे जानकारी गराएपनि काठमाण्डौँबाटै बोलाउनुपर्ने बताएपछि लकडाउनका कारण समस्या भएको डा. मण्डल बताउनुहुन्छ । लकडाउनका कारण काठमाण्डौँबाट इञ्जिनियर आउन समस्या हुँदा एक्स रे मेसिन मर्मत हुन नसकेको उहाँको भनाई छ । उहाँले एक्स रे मेसिन बिग्रिएको बारे अस्पताल व्यवस्थापन समितिलाई जानकारी गराईसकेको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् उर्लाबारी वडा नं. ५ का अध्यक्ष भानुभक्त पराजुलीले अस्पतालमा रहेको एक्स रे मेसिन बिग्रिएको बताउनुहुँदै लकडाउनका कारण मर्मत गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “अस्पताल पछिल्लो समय प्रदेश सरकार मातहत गएको भनिएको छ, एक रुपैया पनि बजेट आएको छैन, उर्लाबारी नगरपालिकाले गत वर्षबाटै बजेट दिन छाडेको छ । ” अस्पतालका डाक्टर, प्राविधिक र व्यवस्थापन समितिले अहिले केही गर्न सक्ने अवस्था नरहेको बताउनुहुँदै उहाँले अस्पताल रु ३० लाख घाटामा सञ्चालन भईरहेको जानकारी दिनुभयो । नयाँ एक्स रे मेसिन किन्न बजेट पनि छैन, अध्यक्ष पराजुलीले भन्नुभयो “काठमाण्डौँबाट इञ्जिनियर बोलाएर यसैलाई मर्मत गरेर भएपनि चलाउनुपर्ला ।” संघीय सरकारले मंगलबारे अस्पताल प्रदेश सरकार मातहत संचालन गर्ने निर्णय गरेपनि औपचारिक रुपमा नयाँ समिति बन्न सकेको छैन । हाल उर्लाबारी नगरपालिकाले निर्माण गरेको समितिले नै काम गरिरहेको छ ।
सुमन घिमिरेबाट
स्रोतः प्राइम एफएम