
उर्लाबारी । मोरङको उर्लाबारी–७ मा दोस्रो वडा अध्यक्ष अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिताको छात्र÷छात्रा दुबैतर्फ पशुपति आमाबिले उपाधि जितेको छ ।
उर्लाबारी भलिबल नगर समितिको आयोजनामा उर्लाबारी–७ स्थित नेपाल आदर्श अंग्रेजी बोर्डिङ स्कुलको खेलमैदानमा भएको प्रतियोगिताको छात्र÷छात्रा दुबैतर्फ पशुपतिले उपाधि जितेको हो । छात्रतर्फ फाइनलमा भृकुटी मोडल एकाडेमीलाई हराउँदै पशुपतिले उपाधि जितेको छ । छात्रतर्फ भृकुटी मोडल एकाडेमी उपविजेता बन्यो । त्यस्तै, छात्रातर्फ राधिका माबिलाई हराएर पशुपतिले उपाधि जितेको हो । छात्रातर्फ राधिका माबि उपविजेता बन्यो । छात्र÷छात्रा दुबै तर्फ नेपाल आदर्श तेस्रो भयो । खेलको सर्वोत्कृष्ट खेलाडी एरिस आचार्य (पशुपति), उत्कृष्ट डिफन्स ताङछुहाङ लिम्बू (लालिगुँरास), उत्कृष्ट रेजर आयुस कार्की (पशुपति), उत्कृष्ट सर्भर सुजन गजमेर (भृकुटी) र उदयमान खेलाडी एलेक्स बस्नेत (नेपाल आदर्श) भए । प्रतियोगिताको समापन कार्यक्रम उर्लाबारी नगरपालिका वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा कोशी प्रदेश भलिबल संघका उपाध्यक्ष बीरबल थापा, उर्लाबारी नगरपालिका कार्यपालिका सदस्य मनमाया तामाङ, वडा सदस्यहरु सन्तोष निरौला, सुमन कार्की, नेपाल आदर्शकी संस्थापक प्रिन्सिपल सविना खड्का कार्की, सञ्चालक प्रकाश कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सचिब अमर धिमालले गर्नुभएको थियो भने अध्यक्ष पुष्प खड्काको सभापतित्वमा भएको थियो ।