उर्लाबारी । उच्च अदालत विराटनगरको आदेश उल्लंघन गर्दै कोशाी प्रदेश खेलकुद विकास बोर्डले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेपछि अदालतमा मुद्दा दायर भएको छ ।
चार वर्षको लागि २०८० चैत २३ गते नियुक्त भएका इन्द्रकुमार योञ्जन तामाङ्गलाई हटाएर प्रदेश सरकारले खुलकुद क्षेत्रसँग कुनै सरोकार नभएका एमालेका कार्यकर्ता सुरजबहादुर श्रेष्ठलाई नियुक्ति गरेपछि अदालतको अवहेलनामा मुद्दा दर्ता भएको हो ।
कोशी खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्री तथा पाँचकर्ण राईको अध्यक्षतामा १७ माघमा बसेको बैठकले श्रेष्ठलाई नियुक्त गरेको छ । २०८१ भदौ ४ गते खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम) ले योञ्जनलाई निलम्बन गर्ने निर्णय गर्नुभएको थियो । त्यसविरुद्ध योञ्जनले उच्च अदालतमा रिट दायर गरेकोमा अदालतले बोर्डको निर्णय कार्यान्वयन नगर्न र योञ्जनलाई काम गर्न दिन भन्दै भदौ १२ गते अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालतले अन्तरिम आदेश दिएपनि बस्नेतले काम गर्न नदिएको र अहिले अदालतको आदेश अवहेलना गर्दै नयाँ नियुक्त गरेको योञ्जनले बताउनुभयो । बस्नेतकै प्रस्तावमा खेलकुदमा नरहेका नेकपा एमालेका जिल्ला सदस्य श्रेष्ठलाई अहिले नियुक्त गरिएको छ । खेलकुदमा नियुक्त भएका श्रेष्ठ सदस्य सचिव बस्नेतका विश्वास पात्र हुनुहुन्छ ।
आफूलाई काम गर्न दिनु भन्ने उच्च अदालतको आदेश विपरित काम गर्न नदिएको र नयाँ नियुक्ति गरेको भन्दै योञ्जनले अदालतको अवहेलना भएको भन्दै बस्नेत र खेलकुद बोर्डविरुद्ध अर्को रिट दायर गर्नुभएको छ । प्रदेश खेलकुद विकास बोर्ड र सदस्य सचिव बस्नेतलाई विपक्षी बनाएर मंगलबार उच्च अदालत विराटनगरमा अदालतको अवहेलनामा कारवाही गरी पाउँ भन्दै मुद्दा दायर भएको हो ।
मुद्दाको पेशी बुधबार तोकिएको योञ्जनले जानकारी दिनुभयो । प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हशंराज वाग्ले भएको बेला २०८० चैत २३ गते तामाङले खेलकुद विकास समिति मोरङको अध्यक्षमा नियुक्ति पाउनुभएको थियो । सदस्य सचिवमा एमाले नेता बस्नेत पुनर्वहाली भएपछि योञ्जनलाई निलम्बन गर्नुभएको थियो । निलम्बनविरुद्धको रिटमा उच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
भदौ २० गते उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा गरेर काम कारवाही गर्न दिनु भन्ने १२ गतेको आदेशलाई निरन्तरता दिएको थियो । कुनै कारणविना र राजनीतिक प्रतिशोधका आधारमा बस्नेतले आफूलाई निलम्वन गरेर पार्टीका कार्यकर्ता भर्ति गराउन खोजेको योञ्जनले आरोप लगाउनुभएको छ । लामो समयदेखि कराँतेमा सक्रिय रहनुभएका तामाङ सितोरियो कराँतेका राष्ट्रिय कोच तथा थर्ड डन हुनुहुन्छ ।