
उर्लाबारी, उर्लाबारीमा जारी प्याब्सन स्पोर्टस् मिट अन्तर्गत फुटसल प्रतियोगिताको उपाधि मोरङ मोडल आमावि उर्लाबारी–६ ले जितेको छ । आज सम्पन्न फाइनल खेलमा ब्रिलियन्ट एकाडेमी उर्लाबारी–२ लाई पराजित गर्दै मोरङ मोडल प्रथम भएको हो । फुटसल खेलमा न्यु भिजन एकाडेमीले तेस्रो स्थान हात पारेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) उर्लाबारी नगर समितिले आयोजना गरेको तीन दिने स्पोर्टस् मिटमा छात्र, छात्रा भलिबल र छात्र फुटबल भोलि सम्पन्न हुने भएका छन् । छात्र भलिबलतर्फ फाइनलमा पशुपति आमावि र सप्तकोशी बोर्डिङ स्कुलबिच प्रतिस्पर्धा हुने भएको छ । यस्तै, तेस्रो स्थानका लागि मोरङ मोडल आमावि र सनसाइन बोर्डिङ स्कुल भिड्ने भएका छन् । छात्रा भलिबलमा पशुपति आमावि र झारसाँदी बोर्डिङ स्कुल फाइनल प्रवेश गरेका छन् । तेस्रो स्थानका लागि सुनगाभा बोर्डिङ र सनसाइन बोर्डिङबिच भएको खेलमा सुनगाभा विजयी भएको छ ।
१५ वर्षमुनिको फुटबल प्रतियोगिताको सेमिफाइनलमा विद्याज्योति बोर्डिङ र पशुपति आमाविबिच प्रतिस्पर्धा हुने भएको छ । अर्को सेमिफाइनल खेल न्युभिजन बोर्डिङ र सनसाइन बोर्डिङको बिजेतासँग सुनगाभा बोर्डिङको हुनेछ । पुस १२ गतेदेखि सुरु प्रतियोगिता भोलि समापन गरिने प्याब्सन नगर अध्यक्ष दिनेश पोख्रेलले बताउनुभयो ।
स्पोर्टस् मिटमा प्याब्सनमा आवद्ध उर्लाबारीका २१ वटा विद्यालयको सहभागिता जनाएका छन् । प्रतियोगिताका फुटसल बाहेकका सबै खेल उर्लाबारी–३ स्थित प्रस्तावित उर्लाबारी रंगशालामा भइरहेको छ भने फुटसल खेल उर्लाबारी फुटसलमा भएको थियो । मोफसलमा रहेका प्रतिभावन खेलाडी तथा खेलाडी हुने तीव्र इच्छा बोकेका विद्यार्थीहरुलाई ‘स्पोर्टस मिट’ मा सहभागी गराएर देश तथा अन्तर्राष्ट्रिय जगतसम्म आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो । तीन दिने खेल महोत्सवमा पाँच सय विद्यार्थीको सहभागिता रहेको र प्रतियोगिता सम्पन्न गर्न करिब तीन लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्याव्सन नगर कोषाध्यक्ष आनन्द कार्कीले बताउनुभयो । प्रत्येक विधामा विजेता तथा उपविजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिता अन्तर्गत छात्र भलिबलमा ९, छात्रा भलिबलमा ७, १५ वर्षमुनिका छात्र फुटबलमा १२ र आधारभुत तहको फुटसलमा १८ विद्यालयको सहभागिता रहेको थियो ।