उर्लाबारी । ‘हाम्रो प्रत्येक गोल, लागुऔषध विरुद्धको बोल’ भन्ने नाराका साथ मोरङको उर्लाबारीमा सम्पन्न विद्यालय स्तरीय युथ १४ फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ ।
उर्लाबारी नगरपालिकाको सहयोग र उर्लाबारी फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको विहीबार पत्रकार सम्मेलन गरी हिसाब सार्वजनिक गरिएको हो । प्रतियोगितामा ४ लाख ८२ हजार २ सय ९३ रुपैयाँ संकलन भएकोमा ४ लाख ६३ हजार ४ सय १५ रुपैयाँ खर्च भई १८ हजार ८ सय ७८ रुपैयाँ बचत भएको उर्लाबारी फुटबल क्लबका कोषाध्यक्ष योगराज फागोले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकासहित सहयोगीदाताहरुबाट सहयोग संकलन गरी आयोजना गरिएको प्रतियोगिताबाट विद्यालय स्तरमा रहेका ७० जना खेलाडीहरु प्रारम्भिक चरणमा छनौट गरिएको उहाँले बताउनुभयो । तीमध्येबाट ३५ जना छनौट गरी प्रशिक्षण दिने योजना रहेको उहाँले सुनाउनुभयो ।
उर्लाबारी–६ को राधिका माबि, उर्लाबारी–३ को सालबारी र उर्लाबारी–८ को अरनिको माबिमा मान्यता प्राप्त प्रशिक्षकबाट नियमति २ बर्षसम्म प्रशिक्षण दिइने अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा उर्लाबारी फुटबल क्लबका अध्यक्ष दिपेन्द्र धिमालले बताउनुभयो । उहाँले खेलाडी पलायन हुने क्रम बढेपछि विद्यालय स्तरबाटै खेलाडी छनौट गरी एकाडेमी नै सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक विशाल तामाङ, उर्लाबारी फुटबल क्लबका सचिब घनश्याम भण्डारी, उर्लाबारी वडा नं. ६ का सदस्यहरु बमबहादुर श्रेष्ठ, मानबहादुर धिमाल, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष नवराज भट्टराईलगायतको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि उर्लाबारी–२ को सुनपकुवा माध्यमिक विद्यालयले जितेको थियो । प्रतियोगितामा उर्लाबारीका सामुदायिक तथा निजी २५ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय