उर्लाबारी । नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले मोरङको उर्लाबारीमा विद्यालय स्तरीय युथ १४ फुटबल प्रतियोगिता सुरु भएको छ ।
उर्लाबारी फुटबल क्लबले एकाडेमी सञ्चालन गर्ने लक्ष्यका साथ आइतबारदेखि विद्यालय स्तरीय युथ १४ फुटबल प्रतियोगिता सुरु गरेको हो । प्रतियोगिताको उद्घाटन उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले गर्नुभएको थियो । उद्घाटन खेलमा उर्लाबारीको शिशु शिक्षा सदन र शुभकामना बोर्डिङ स्कुलबीच प्रतिष्पर्धामा उत्रिएका थिए । निर्धारित समयमा दुबै टिमले कुनै गोल गर्न नसकेपछि खेल सिधै ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा शिशु शिक्षा सदनलाई ३–० गोल अन्तरले पराजित गर्दै शुभकामना बोर्डिङ स्कुल अर्को चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टिमले आक्रमक खेल प्रस्तुत गरेपनि गोल गर्न भने सकेनन् । खेलको भ्यान अफ दी म्याच शिशु सदनका रियाद पोखरेल भए । प्रतियोगितामा उर्लाबारीका संस्थागत र सामुदायिक गरी २५ विद्यालयको सहभागिता रहेको क्लबका अध्यक्ष दिपेन्द्र धिमालले पूर्वी कमाण्ड अनलाइनलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार तथा द्वितीय हुनेलाई नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कोषाध्यक्ष योगराज फागोले बताउनुभयो । उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चालन भएको सो प्रतियोगिताबाट खेलाडी छनौट गरी युथ १४ को एकाडेमी सञ्चालन गर्ने तयारी गरिएको क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिनुभयो । उर्लाबारी– ६ को हाटखोला, उर्लाबारी– ८ को दुर्गापुरी र उर्लाबारी– २ को सालबारीमा प्रशिक्षण सञ्चालन गरिने उहाँले बताउनुभएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख ३१ हजार ७ सय रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा सञ्चालन भइरहेको सो प्रतियोगिताको सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा मोरङ मोडल र ओभल एकाडेमी, दोस्रो खेलमा नेबुला बोर्डिङ र भृकुटी बोर्डिङबीच हुने आयोजक समितिका सदस्य विजु श्रेष्ठले पूर्वी कमाण्ड अनलाइनलाई जानकारी दिनुभयो ।
ADVERTISEMENT