
उर्लाबारी । मोरङको उर्लाबारीमा असोज ३ गते संविधान दिवसको अवसरमा ‘उर्लाबारी रन २०७९’ हुने भएको छ ।
आज आयोजक सामुदायिक विकास मञ्च उर्लाबारी–६ ले सञ्चार क्लब नेपालमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । १५ बर्ष मुनिका बालबालिका, १५ बर्षदेखि ४० बर्षसम्मको खुल्ला र ४० बर्षभन्दा माथीको भेट्रान समूहको उर्लाबारी रनमा सहभागिता रहने उर्लाबारी रनका संयोजक प्रेम बोहोराले जानकारी दिनुभयो । १५ बर्षदेखि ४० बर्षसम्मको खुल्लातर्फ १० किलोमिटर रनको विजेताले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र चौंथोले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । खुल्ला समूहमा पुरुष र महिला दुबै समूहलाई बराबर राशी राखिएको संयोजक बोहोराले बताउनुभयो ।
त्यसैगरी भेट्रानतर्फ प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र चौंथोले ३ हजार रुपैयाँ पाउने छन् । यो समूहमा पनि महिला र पुरुष दुबैलाई बराबरी पुरस्कार राखिएको छ । त्यस्तै, १५ वर्षमुनिका बालक तथा बालिकातर्फ दुवैमा प्रथमले ५ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार, चौंथोले २ हजार र पाँचौँले १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । बालबालिकाको भने तीन किलोमिटर दौड हुनेछ । उर्लाबारी–६ सूर्यचौक स्थित संस्थाको कार्यालयबाट सुरु हुने १० किलोमिटर रन तरुण चौक, छाता चौक, आइतबारे, उर्लाबारी चौक, होलीचाइल्ड बोर्डिङ हुँदै सिमाना बस्तीबाट पुनः सूर्य चौकमा आएर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख ५० हजारभन्दा बढी रुपैयाँ खर्च हुने अध्यक्ष ढुण्डुराज भट्टराईले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिका र विभिन्न सहयोगीदाताको सहयोगमा उर्लाबारी रन भब्य र भब्य तरिकाले सम्पन्न गरिने उहाँले बताउनुभयो । उर्लाबारीको नाम देश विदेशमा परिचित गराउन रन प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाएर तयारी तीब्र पारिएको उहाँले जानकारी दिनुभयो ।