
उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नं. ६ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । राधिका मावि उर्लाबारी–६ को खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा वडा नं. ५ लाई ट्राइवेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै वडा नं. ६ फाइनल प्रवेश गरेको हो । पूर्वविजेता वडा नं. ६ र पहिलो संस्करणको विजेता वडा नं. ५ बीच भएको रोमाञ्चक खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । खेलको पहिलो हाफमा वडा नं. ६ का मिलन धिमालले गोल गरेपनि दोस्रो हाफको सुरुमै वडा नं. ५ का विशाल राईले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ट्राइबेकरमा दुई खेलाडीको प्रहार रोकेका वडा नं. ६ का गोलकिपर धिरज चौधरी खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई नगद ३ हजारसहित ट्रफी वडा नं. ७ का वडाध्यक्ष वीरबल थापाले प्रदान गर्नुभयो ।
प्रतियोगिता अन्तर्गत भोलिको दोस्रो सेमिफाइनल खेल वडा नं. १ र वडा नं. ७ बीच हुने आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भीष्म बुढाथोकीले बताउनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष योगराज फागोले बताउनुभयो ।