उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा वडा नं. ४ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
वडा नं. १ लाई ४–२ गोल अन्तरले पराजित गर्दै वडा नं. ४ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ६ औंं मिनेटमा वडा नं. १ का संयोग गौतमले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटमै वडा नं. ४ का अनिल तिम्सिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । २० औं मिनेटमा संयोग गौतमले नै वडा नं. १ का लागि दोस्रो गोल गरे । पहिलो हाफको थपिएको समयमा वडा नं. ४ का सुजन थापामगरले गोल गरेपछि पहिलो हाफ बराबरीमा टुंगिएको थियो ।
दोस्रो हाफमा आक्रामक खेलेको वडा नं.४ ले दुई गोल थप्यो ।
दोस्रो हाफको ६४ मिनेटमा रोहन भट्टराईले गोल गर्दै वडा नं. ४ को अग्रता बढाए । ८५ मिनेटमा किरण सुनारले गोल गर्दै वडा नं. ४ को विजयी सुनिश्चित गरे । प्रतियोगिताको म्यान अफ द म्याच वडा नं. ४ का किरण सुनार घोषित भए । उनलाई नगद ३ हजारसहित ट्रफी वडा नं। १ का वडाध्यक्ष मचिन्द्रकुमार कार्कीले प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल वडा नं. ५ र वडा नं. २ बीच हुने आयोजक समितिका संयोजक विशाल तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष योगराज फागोले बताउनुभयो ।
यसैक्रममा उर्लाबारी वडा नं. ४ ले वडाभन्दा बाहिरका खेलाडी खेलाएको भन्दै वडा नं. १ ले उजुरी हालेको आयोजकका सदस्य सुब्रत अधिकारीले जानकारी दिनुभयो । उजुरीका विषयमा छानविन गरेर निर्णय लिने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय