
उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको आजको खेलमा वडा नं. ५ विजयी भएको छ ।
उर्लाबारी फुटबल क्लबको आयोजना तथा उर्लाबारी नगरपालिकाको सहयोगमा गरिएको सो प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नं. ५ विजयी भएको हो । वडा नं. ९ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नं. ५ क्वाटरफाइनलमा पुगेको छ । वडा नं. ५ ले अब वडा नं. २ सँग प्रतिष्पर्धा गर्नेछ । खेलको अन्तिम मिनेटमा पासाङ तामाङले गोल गर्दै वडा नं. ५ लाई दोस्रो चरणमा प्रवेश गराएका हुन् । आजको खेलको म्यान अफ दि म्याच वडा नं. ५ का पासाङ तामाङलाई वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले पुरस्कार प्रदान गर्नुभयो । वडा नं. ५ बाट ए डिभिजन लिग खेल्ने निरज बस्नेत र सूर्य अधिकारीले खेलेका थिए ।
आइतबारबाट सुरु प्रतियोगिताको भोलिको खेल वडा नं. १ र वडा नं. ४ बीच हुने आयोजक समितिका संयोजक विशाल राईले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष योगराज फागोले बताउनुभयो ।