
उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले खानेपानी संस्थामा राजनीति खिचातानी नगर्न आग्रह गर्नुभयो ।
आज उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औं वार्षिक साधारणसभामा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उर्लाबारी–५ स्थित श्रीसगरमाथा साकोसको सभाहलमा मेयर फागोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम उहाँले उर्लाबारीका सबै खानेपानीलाई एउटै आयोजनाका रुपमा सञ्चालन गरिने बताउनुभयो । पिउने पानी सबैको अधिकार भएको बताउँदै उहाँले उर्लाबारीका विपन्न वर्गलाई धारा जडान शुल्कको आधा नगरपालिकाले व्यहोरिरहेको जानकारी दिनुभयो । मासिक पाँच युनिट मात्र पानी खपत गर्ने नागरिकहरुको महशुल नगरपालिकाले तिरिदिएको उहाँको भनाई छ । कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी, खानेपानी महासंघका केन्द्रीय सदस्य सूर्यप्रसाद गुरागाई, उर्लाबारी वडानं. ७ का वडाध्यक्ष वीरबल थापालगायतले शुभकामना मन्तव्य राख्नुभयो । साधारणसभामा संस्थाका अध्यक्ष भुपालसिं राईले अध्यक्षको प्रतिवेदन, सचिव चिन्तामणि पौडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष जगन्नाथ भण्डारीले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक श्यामबहादुर बस्नेतले लेखा समितिको प्रतिवेदन तथा कार्यालय प्रमुख राजु बुढाथोकीले प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
२०५२ सालमा स्थापना भएको उर्लाबारी खानेपानी हाल ४ हजार ९०२ घरमा पानी वितरण गर्दै आएको र उर्लाबारीमा २४७ किलोमिटर पाइपलाइन विस्तार गरिएको सचिव पौडेलले बताउनुभयो । चालु आवमा थप ६ सय धारा जडान गर्ने, बृहत सहलगानी आयोजनाबाट उर्लाबारी वडा नं. ४, ५, ६ र ७ मा सुधार, विस्तारको काम सुरु गरिने, वडा नं। ८ र ९ मा नयाँ आयोजना सञ्चालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । संस्थाले गत आर्थिक वर्षमा २ करोड ३० लाख ७१ हजार ७४९ रुपैयाँ आम्दानी र १ करोड ६ लाख ६३ हजार ८६० रुपैयाँ खर्च गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । वार्षिक साधारण सभाको अवसरमा संस्थाका कर्मचारी खेमराज खरेललाई सम्मान गरिएको छ ।