उर्लाबारी, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीको रजत जयन्ती महोत्सव भव्यताका साथ मनाइने भएको छ ।
केन्द्र स्थापनाको २५ वर्ष पुगेको अवसरमा यही मंसिर ५ देखि ८ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी रजत जयन्ती महोत्सव मनाउने भएको हो । केन्द्रले आज पत्रकार सम्मेलन गरी रजत जयन्ती महोत्सवका विषयमा जानकारी दिएको छ ।
केन्द्रकी सञ्चालिका मिरा दिदीका अनुसार रजत जयन्ती महोत्सवमा उत्प्रेरणा शिविर, रक्तदान कार्यक्रम, राजयोग शिविर, शान्ति पदयात्रा, साँस्कृतिक कार्यक्रम लगायत हुनेछ । मंसिर ५ गते उत्प्रेरणा शिविर, ६ गते अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बरिष्ठ राजयोगी ब्रह्मकुमार रमण भट्टराईबाट शान्त मन, आनन्दमय जीवनका लागि प्रेरणा र परिवर्तन विषयक उत्प्रेरणा शिविर हुने कार्यक्रम रहेको छ । सोही दिन बिहान सेवा केन्द्र परिसर उर्लाबारी–५ मा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
यस्तै, मंसिर ७ गते उर्लाबारी पार्टी प्यालेसमा बरिष्ठ राजयोगी ब्रह्मकुमार विजयराज सिग्देलबाट राजयोगद्वारा मानसिक शक्तिको सशक्तिकरण विषयक राजयोग शिविर सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । मंसिर ८ गते बिहान शान्ति पदयात्रा, १० बजेदेखि साँस्कृतिक कार्यक्रम र ११ बजेदेखि रजत जयन्ती महोत्सव कार्यक्रम समुद्घाटन हुने जनाइएको छ ।
उद्घाटन समारोहमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आउने तयारी भएको आयोजक ब्रहमाकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीले जनाएको छ । रजत जयन्ती महोत्सवमा केन्द्रको नेपालका निर्देशक राजदादीको समेत उपस्थिति हुने भएको छ ।
ADVERTISEMENT