
उर्लाबारी । युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन मोरङको मिक्लाजुङ–२ का ६० जना युवायुवतीलाई निःशुल्क वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं. २ को आयोजनामा युवायुवतीलाई समावेश गरी १५ दिनको तालिम प्रदान गरिएको हो । युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले बताउनुभयो । ‘सिकेको सीपलाई व्यवहारमा लागू गर्न सकेको अवस्थामा आत्मनिर्भर बन्न कसैको मुख ताक्नु पर्दैन ’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । बेरोजगार युवायुवतीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन पालिकाले प्राथमिकता दिँदै आएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले जानकारी दिनुभयो । ‘सीप सिकेर विदेशमा होइन स्वदेशमै स्वरोजगार बनाउन पहल गरिनुपर्छ’ उहाँले भन्नुभयो,‘ पालिकाका ९ वटै वडामा सीपमूलक र आयमूलक तालिमलाई जोड दिइएको छ ।’