
उर्लाबारी । नापतौल सम्बन्धीका उपकरणहरूको चेकजाँच नहुँदा उपभोक्ताहरू ठगिने गरेको जनगुनासो बढ्दै गइरहेका बेला मोरङको उर्लाबारीका व्यावसायीले प्रयोग गर्दै आएका नापतौलका उपकरणहरूको चेकजाँच गरिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल विभाग विराटनगरको सहजीकरणमा व्यावसायीले प्रयोग गर्दै आएका किला, काँटा, ढक, तराजु, लिटर, मिटरलगायतका उपकरणको चेकजाँच गरिएको हो । संघले बार्षिक रुपमा व्यावसायीहरूले प्रयोग गर्दै आएका उपकरणहरूको चेकजाँच गर्ने गरेको अध्यक्ष तारामान सिरिङले जानकारी दिनुभयो । उर्लाबारी उद्योग बाणिज्य संघ र उर्लाबारी–३ को मंगलबारे गरी दुई स्थानमा नापतौलका उपकरणहरूको चेकजाँच गरिएको उहाँले बताउनुभयो । दुई दिने शिबिरमा १ सय ३० जना व्यवसायीहरुको नापतौलका उपकरणको चेकजाँच गरिएको उहाँको भनाई छ ।
‘उपभोक्ताहरूले सामानको मूल्य तिरेपछि सोही मूल्य बराबरको सामान पाउनुपर्छ, सानोतिनो कारणले उपभोक्ताहरू मारमा नपरून् भनेर नापतौल सम्बन्धी उपकरणहरूको चेकजाँच गर्न शिबिरको आयोजना गरिएको हो’ महासचिब सम्झना खतिवडाले भन्नुभयो । उहाँले व्यवसायीहरुलाई पनि सहज होस् भनेर उर्लाबारीमा दुई दिनको शिबिर गरिएको जानकारी दिनुभयो ।