
उर्लाबारी । मोरङको उर्लाबारीमा बुधबारदेखि छैटौं मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
बुधबार उर्लाबारी– ३ स्थित सालबारी सामुदायिक वनको खेलमैदानमा भएको उद्घाटन खेलमा उर्लाबारी–४ विजयी भएको हो । उसले वडा नं. ३ लाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो खेलमा सानदार जित निकालेको छ । जीतका लागि ४ नम्बर वडाका सुदिप लिम्ब, आयुष दाहाल र सुजन थापा मगरले गोल गरे भने ३ नम्बर वडाका सन्जिव राईले एक गोल गरेपनि टिमलाई हारबाट बचाउन सकेनन् । वडा नम्बर ४ का सुजन थापालाई म्यान अफ दि म्याच घोषित भए ।
खेलको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले सुनको लेपन गरिएकोे प्रथम ट्रफी अनावरण गर्नुभयो । मंगलबारे फुटबल क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको छ । उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने सो प्रतियोगिताको फाईनल खेल आगामी वैशाख १० गते हुने खेल संयोजक विजय माझीले बताउनुभयो । सो प्रतियोगिताको विजेताले ७५ हजार नगद , उप विजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको दोस्रो दिनको खेल बिहीबार वडा नम्बर ६ र ७ बिच दिउँसो ३ बजेदेखि संचालन हुने आयोजकले जनाएको छ ।