
दमक । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक, सामाजिक र आर्थिक समावेशीता तथा सहभागितालाई प्रवद्र्धन गर्ने उद्देश्यले लिड नेपाल, झापाको आयोजनामा दमकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमले विविध राजनीतिक दलका प्रतिनिधि, दलित र सीमान्तकृत समुदायका अगुवाहरूलाई एउटै मञ्चमा ल्याएर समावेशितामूलक विमर्शलाई अघि बढाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद तथा ख्यातिप्राप्त यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी सुनिल बाबु पन्तले समावेशी कानुनी संशोधनको खाँचो औँल्याउँदै, सरकारद्वारा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति थप लगानी र नीतिहरूको अवलम्बन अपरिहार्य भएको धारणा राख्नुभयो ।
नेकपा माओवादी केन्द्रका गगन पुरी, भूमिका कोइराला र सन्तोष गौतमले दमक नगरपालिकाले रोजगारी सिर्जना तथा साना उद्यम प्रवद्र्धनमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिमा दहालसहितको प्रतिनिधित्वले राजनीतिक दलहरूले आफ्ना नीति र संरचनामा समावेशिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औलाउनुभयो । नेपाली कांग्रेसकी गोमा बुढाथोकी र नेकपा (एमाले) का मदन बोहरालगायत प्रतिनिधिहरूले सार्वजनिक चेतनाको कमी अझै रहेको र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति सामाजिक स्वीकृति विस्तारका लागि थप प्रयास आवश्यक रहेको धारणा व्यक्त राख्नुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का पदम कुमारी लिम्बू, लिम्बुवान पार्टीका बिष्णु भट्टराईलगायतले बोल्नुभएको थियो । उक्त परामर्श कार्यक्रमले सार्वजनिक शौचालयको पहुँच, बैंकिङ सुविधा, रोजगारी कोटा र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय मैत्री बजेट जस्ता मुद्दाहरू पहिचान गरी समाधानको मार्गचित्र तय गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमले समावेशी, समानतामूलक र मानवीय मर्यादामा आधारित दमक नगरको परिकल्पनातर्फ सकारात्मक कदम चालेको आयोजकले विश्वास लिएका छन् ।
कार्यक्रमको सहजीकरण लिड नेपाल, झापाकी कार्यक्रम संयोजक नुमा लिम्बू (चन्चला) ले गर्नुभएको थियो ।