
उर्लाबारी । मोरङको उर्लाबारीमा आगामी बैशाख ३ गतेदेखि छैटौं मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक मंगलबारे युवा क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने प्रतियोगिता बैशाख १० गतेसम्म सञ्चालन हुने खेल संयोजक विजय माझीले जानकारी दिनुभयो ।
उर्लाबारी–३ स्थित सालबारी सामुदायिक वनको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद ७५ हजार, उपविजेताले नगद ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष पिपलराज गिरीले बताउनुभयो । प्रतियोगिताको मुख्य प्रायोजक उर्लाबारी नगरपालिका रहने र खेल सम्पन्न गर्न ५ लाख ६५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकी, स्थानीय सामाजिक ब्यक्तित्व छबी दाहाल, ३ नम्बर खेलकुद समिति संयोजक सुमन श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिब सन्तु लिम्बूले गर्नुभएको थियो ।