
उर्लाबारी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी–९ को वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। सिंहकाली मन्दिर परिसरमा आयोजित अधिवेशनले यामनाथ खतिवडालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको छ।
समितिका अन्य सदस्यहरूमा कमला देवी लुईटेल, टंकबहादुर खड्का, जर्मनकुमार काम्बाङ, तेजेन्द्रकुमार प्रसाई, पुष्प गौतम, भवानी प्रसाद न्यौपाने, र खेमराज थापा चयन भएका छन्। अधिवेशनले पहिलो बैठकबाटै समितिलाई पूर्णता दिने निर्णय गरेको छ।
अधिवेशनमा रास्वपा मोरङ जिल्ला सहसचिव तथा संगठन विभाग प्रमुख सिर्जना आचार्य गिरी प्रमुख अतिथि रहनुभएको थियो। उहाँले रास्वपाले जनताको विश्वास जित्दै गएको र स्थानीयस्तरमा विकास तथा सुशासनको लागि रास्वपाको बिकल्प नभएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि उर्लाबारी नगर सभापति उमेशजङ थापाले पार्टीको संगठन सुदृढ गर्दै अगाडि बढ्न नेतृत्वलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहमा रास्वपा जनताको आशा र विश्वासको केन्द्र बन्दै गएको छ। हामीले अब जिम्मेवारीपूर्वक काम गरेर जनअपेक्षा पूरा गर्नुपर्छ।”
नवनिर्वाचित सभापति यामनाथ खतिवडाले जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “हामी संगठन विस्तार मात्र होइन, स्थानीय समस्याहरू समाधान गर्नेतर्फ केन्द्रित हुनेछौं। सुशासन, पारदर्शिता, र नागरिक अधिकार सुनिश्चित गर्न हामीले सक्रिय भूमिका खेल्नेछौं।”
नवगठित समितिले स्थानीय मुद्दाहरू सम्बोधन गर्दै नागरिकको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। समितिले स्थानीयस्तरमा संगठन विस्तार, नीति निर्माणमा प्रभावकारी हस्तक्षेप, र जनताको समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिने बताइएको छ।
वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि स्थानीय कार्यकर्ताहरूले नवगठित समितिलाई बधाई दिएका छन्। पार्टीको संगठन विस्तारसँगै स्थानीय स्तरमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।