
मधुमल्ला । मोरङको मिक्लाजुङमा प्रथम खुल्ला कोशी प्रदेश स्तरीय कराते प्रतियोगिता २०८१ हुने भएको छ ।
प्रतियोगिताको आयोजना मधुमल्ला रितोरियो कराँते डोजो (स्कुल)ले गरेको हो । शनिबार मधुमल्लामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको छ ।
प्रतियोगिता यही फागुन २४ गते शनिबार हुने मधुमल्ला डोजो खेलका प्रमुख प्रशिक्षक दिपेन थापाले जानकारी दिनुभयो । कोशी प्रदेशको मोरङ, झापा, सुनसरी, इलामलगायत जिल्लाका ३१ वटा टिमको सहभागीता रहने जनाइएको छ । खेलकुद माध्यमबाट मिक्लाजुङ गाउँपालिकालाई परिचित गराउँदै युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँको भनाई छ । उदयमान कराँते खेलाडी उत्पादन तथा वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्ने पनि प्रतियोगिताको उद्देश्य रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा खेलाडी तथा अफिसियल गरी करिब ४ सय जनाको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।