
मिक्लाजुङ/ फागुन ७ गते बुधबारदेखि सुरु भएको प्रथम धोबेन च्यालेन्जकप फुटबल प्रतियोगिताको पहिलो दिन आयोजक धोबेन फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ। खेलमा आयोजकले पशुपति उर्लाबारी माविलाई ट्राइबेकरमा ४-२ गोल अन्तरले पराजित गरेको हो।
मिक्लाजुङ-३ स्थित कालीका माविको खेलमैदानमा सम्पन्न खेलमा पशुपतिका जर्सी नम्बर ७ का मिजन खड्काले पहिलो गोल गर्दै आयोजक टोलीलाई चुनौती दिएका थिए। त्यसपछि खेलको अन्तिम अतिरिक्त समयको ‘भेन्टिलेटर आवर’ मा आयोजकका जर्सी नम्बर ७ का पारस लिम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याए। घरेलु दर्शकको साथ पाएको आयोजक टोलीले खेललाई ट्राइबेकरमा धकेलेपछि अन्ततः ४-२ को जित निकाल्दै सेमीफाइनलमा स्थान सुरक्षित गर्यो।
प्रतियोगितामा वडा नम्बर ३ को प्रमुख सहयोग रहेको छ। प्रतियोगिताको विजेता टिमले नगद रु. ५१,०००, उपविजेताले रु. ३१,००० सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भन्ने जानकारी आयोजक क्लबका अध्यक्ष पारस मिभकले दिएका छन्।
यस्तै, बिहीबारको खेलमा लेटाङ एफसी र नवदिप युवा क्लब मधुमल्लाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुनेछ।
उद्घाटन खेलमा प्रमुख अतिथि वडाध्यक्ष सन्तोष थापा मगर, विशिष्ट अतिथि कालीका माविका प्रधानाध्यापक मात्रिका न्यौपाने, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।