उर्लाबारी, उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले विद्यालयमा अध्ययनरत किशोरकिशोरीसँग हिंसा र कुरीतिका सम्बन्धमा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । किशोरकिशोरीमाथि हुने हिंसा र कुरीतिको अन्त्यका लागि उपमेयरसँग किशोरकिशोरी कार्यक्रमलाई अघि बढाइएको हो ।
विद्यालयमा अध्ययनरत किशोरकिशोरीका समस्या बुझी न्युनीकरणका लागि यो कार्यक्रम सुरु गरिएको हो । आज उर्लाबारी–२ स्थित सुनझोडा माध्यमिक विद्यालयका विद्यार्थीसँग उपमेयर पौडेलले अन्तरक्रिया गर्दै हिंसा र कुरीतिका विषयमा उनीहरुले भोगेका समस्याका बारेमा जानकारी लिनुभयो । सो अवसरमा उपमेयर पौडेलले महिला र बालबालिकामाथि हुने हिंसाका स्वरुप र हिंसाको प्रकार, कारण र असर, सामाजिक मूल्य मान्यता र यसबाट सिर्जित भेदभावका बारेमा विद्यार्थीलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफूले भोगेका समस्याका बारेमा गुनासा तथा जिज्ञासा राखेका थिए ।
पालिकाहरुमा उपप्रमुखकोे भूमिका महत्वपूर्ण हुने र कानुनले नै तोकेका वा अतिरिक्त समेत गरी धेरै जिम्मेवारी बहन गरिरहेका उपप्रमुखले विद्यालयका विद्यार्थीका गुनासा पनि सुन्नुपर्ने मान्यतामा यस प्रकारको कार्यक्रम राखिएको नगरपालिकाले जनाएको छ । यस प्रकारको कार्यक्रम गत वर्ष नगरका सबै विद्यालयमा सञ्चालन गरिएको थियो । चालु आर्थिक वर्षमा हालसम्म ८ वटा विद्यालयमा सञ्चालन गरिएको छ भने सबै विद्यालयमा पुग्ने योजना रहेको उपप्रमुख पौडेलले बताउनुभयो । कार्यक्रममा नगरपालिकाको महिला, बालबालिका शाखाकी कर्मचारी तारा काफ्लेले पनि सहजीकरण गर्नुभएको थियो ।
यस वर्ष यो कार्यक्रम उर्लाबारी–२ को शान्ति आधारभुत विद्यालय, वडा नं. ४ का सृजना आधारभुत विद्यालय र भानु आधारभुत विद्यालय, वडा नं. ८ का शान्तिक्षेत्र आधारभुत विद्यालय र बहादुरबाबा आधारभुत विद्यालय, वडा नं. ९ का प्रभात आधारभुत विद्यालय र सार्वजनिक माध्यमिक विद्यालयमा सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय