उर्लाबारी, निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन उर्लाबारी नगर समितीको आयोजनामा बुधबारदेखी सुरु भएको नगरस्तरीय प्याब्सन स्पोट्स मिट २०८१ समापन भएको छ ।
नगर प्याव्सनको आयोजनामा तीन दिनसम्म सञ्चालित खेलकुद मेला पुरस्कार वितरणसँगै सम्पन्न भएको हो ।
उर्लाबारी–९ स्थित ओभल बोर्डिङ स्कुलमा आयोजित समापन कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य केदार खनाल, निवर्तमान जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदी, नगर अध्यक्ष सूर्य पौडेल, नगर प्याव्सनका प्रमुख सल्लाहकार दिनेश पोख्रेल, पूर्व जिल्ला सदस्य हेमचन्द्र भट्टराई, कार्यक्रम संयोजक आनन्द कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिताअन्तर्गत छात्र भलिबलमा मोरङ मोडल आमावि, छात्रा भलिबलमा शिशु शिक्षा सदन, छात्र फुटबलमा ओभल बोर्डिङ स्कुल, छात्र फुटसलमा सप्तकोशी आमाविले उपाधि जितेका छन् । साथै छात्र भलिबलमा सप्तकोशी बोर्डिङ स्कुल दोस्रो र भृकुटी मोडल एकाडेमी तेस्रो भए ।
यस्तै, छात्रा भलिबलमा सनसाइन बोर्डिङ दोस्रो र मोरङ मोडल आमावि तेस्रो भए । १५ वर्षमुनिका छात्र फुटबलमा शिशु शिक्षा सदन दोस्रो र पशुपति आमावि तेस्रो भएका छन् ।
त्यस्तैगरी कक्षा ५ सम्मका छात्रबिचको फुटसलमा उर्लाबारी लिटिल एञ्जल बोर्डिङ दोस्रो र सुनगाभा बोर्डिङले तेस्रो स्थान हात पारेका छन् ।
टेबलटेनिस छात्रतर्फ हिमालय बाल संसार बोर्डिङका आशुतोष थपलिया प्रथम, पशुपति आमाविका अनमोल न्यौपाने दोस्रो र हिमालय बालसंसारकै आदित्य तामाङ तेस्रो भए । छात्रा टेबलटेनिसमा पशुपति अमाविकी नुमा लावती प्रथम, सुनगाभा बोर्डिङका लिजा राई दोस्रो र झारसाँदी बोर्डिङकी सृजना खनाल तेस्रो भए ।
फुटबल, फुटसल र भलिबलमा विधागत रुपमा खेलाडीलाई समेत पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय र खेलाडीहरुले जिल्ला स्तरीय खेलमा सहभागिता जनाउने छन् । नगर अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव एलपी राईले गरेका थियो ।
तीन दिने खेल उत्सवलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई नगर अध्यक्ष पौडेलले धन्यवाद ज्ञापन गरेका छन् ।
ADVERTISEMENT