
मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानमा दीर्घकालीन खानेपानी समस्या समाधानका लागि डिप बोरिङ योजनाको पहल सुरु गरिएको छ। बुधबार पालिका अध्यक्ष बबीकुमार राई, वडा नम्बर २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ तथा सांसद डिक बहादुर लिम्बुको उपस्थितिमा साखरे र तिल्केनीको हस्पिटल लाइन क्षेत्रमा खानेपानीको स्रोत पहिचान गर्न अनुगमन गरिएको छ।
वडाध्यक्ष बलबहादुर श्रेष्ठका अनुसार खानेपानी अभावका कारण स्थानीय बासिन्दाले ठूलो समस्या भोग्दै आएका छन्। अनुगमन टोलीले डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गर्न सम्भावित स्थानको पहिचान गरेको हो।
“यस क्षेत्रका स्थानीयले दैनिक जीवनयापनमा निकै कठिनाइ झेल्दै आएका छन्। डिप बोरिङको पहलले यहाँका बासिन्दालाई पर्याप्त र शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य छ,” वडाध्यक्ष श्रेष्ठले बताए।
योजनाले वडाकाका धेरै घरधुरीलाई लाभान्वित गर्ने र खानेपानीको पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ। अनुगमनपश्चात आवश्यक प्राविधिक परीक्षण र योजना कार्यान्वयनका लागि पहल सुरु हुने जानकारी दिइएको छ।
मिक्लाजुङ गाउँपालिकाले खानेपानी समस्या समाधानलाई प्राथमिकतामा राखेको र यस योजनाले स्थानीयको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।