मोरङको उर्लाबारी नगरपालिका–१, डाँगीस्थित एक घरबाट लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा छ जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक मचिन्द्र लिम्बुको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा २०८१ पुस २४ गते बुधबार साँझ करिब ६:३० बजे छापा मारेको थियो।
प्रहरीले अमर मगरको घरबाट ९ पोका खैरो हिरोइन जस्तो देखिने पदार्थ, १०० क्याप्सुल Spastin ट्याब्लेट, १०० गोटी Tramadol ट्याब्लेट, ६ थान मोबाइल र १ थान मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–१, डाँगीका अमर मगर, उर्लाबारी–१ का प्रकाश श्रेष्ठ, निरज सुन्दास र प्रेमप्रसाद खनाल रहेका छन्। साथै, मिक्लाजुङ गाउँपालिका–६, कसेनीका मनिष मगर र वडा नं. ६, बेतेनीका सुदीप हुमागाई पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार बरामद वस्तुहरूको परीक्षणपछि उनीहरूमाथि लागूऔषध कारोबारसम्बन्धी कानूनी प्रक्रिया अघि बढाइनेछ।
ADVERTISEMENT