उर्लाबारी । कोशी प्रदेश सरकारले माघ दोस्रो साता आयोजना गर्न लागेको लगानी सम्मेलनमा उर्लाबारी-२ स्थित बेतिनी सीमसारको बृहत्तर परियोजना प्रस्तुत गरिने भएको छ। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत विकास गर्न योजना अघि बढाइएको नगरप्रमुख गंगाप्रसाद खरेलले जानकारी दिएका छन्।
प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार सम्मेलनमा १० करोडदेखि ३२ करोड रुपैयाँसम्मका ६५ देखि ७० परियोजना प्रस्तुत गरिनेछ। बेतिनी सीमसारको परियोजनालाई मुख्य परियोजनाका रूपमा सोकेस गरिने उनले बताएका छन् ।
नगरप्रमुख खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र पर्यटन व्यवसायीहरू शिव न्यौपाने, मन्दीप दाहाल र रोहन डंगोललगायतको सहभागितामा परियोजनाबारे विस्तृत छलफल गरिएको नगर प्रमुखका प्रेस संयोजक मिलन के राउतले जानकारी दिएका छन्। परियोजनालाई नतिजामुखी बनाउन आन्तरिक तयारीलाई चुस्त पारिएको नगर प्रमुख खरेलले बताएका छन् ।
बेतिनी सीमसारलाई पर्यटनको प्रमुख केन्द्र बनाउने उद्देश्यले उर्लाबारी नगरपालिकाले यो बृहत परियोजना अघि बढाएको हो। परियोजना पीपीपी मोडलमा सञ्चालन हुने भएकाले प्रदेश र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्न विशेष योजना निर्माण गरिएको छ।
उक्त लगानी सम्मेलनले प्रदेशमा पर्यटन र पूर्वाधार विकासका लागि महत्वपूर्ण अवसरहरू सिर्जना गर्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय