उर्लाबारी । मोरङको उर्लाबारीमा लिम्बू समुदाय चासोङ तङ्नाम भब्यताको साथ मनाउने तयारी भइरहेको छ ।
प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउने गर्छन् । चासोक पर्वका अवसरमा उर्लाबारी–९ स्थित आम्बारीमा मङ्सिर ३० गतेदेखि पुस ४ गतेसम्म ५ दिने बृहत् सांस्कृतिक कार्यक्रमसहित जातीय महोत्सवको आयोजना गर्न लागिएको किरात याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताउनुभयो । चासोक नजिकिँदै गर्दा सबैमा उत्साह छाएको साँस्कृतिक कार्यक्रम संयोजक प्रकाश कन्दङ्वा बताउनुहुन्छ । यो चाडमा चाम्रे, याङबेन (झ्याउ), सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङ्वा, तीनपाने रक्सी बनाएर खाने चलन छ । यतिबेला पाहुनाको विशेष सेवा–सत्कार गरिन्छ भने चेलीबेटी हुक्वा (आफैले बनाएको शोभित) तथा अन्य प्रकारको चेसुङ (कोसेली) साथ माइती पुग्छन् ।
युवाहरू सार्वजनिक स्थानमा भेला भै परम्परागत जातीय खेल पक्लुङु (छेलो हान्ने खेल) खेल्नुका साथै माछा मार्छन् । सामूहिक रूपमा केलाङ (च्याब्रङ) बजाएर छुई छुई हा सरलाइमा सर भन्दै नाच्छन् । चासोक तङ्नामले सांस्कृतिक, सामाजिक एवं धार्मिक महत्व बोकेकाले जनजीवनमा यसको अविच्छिन्न सम्बन्ध रहिआएको चासोकका सल्लाहकार सुरेन्द्र सेर्माले बताउनुभयो । उहाँका अनुसार पुरानो पुस्ताका लिम्बूले आफ्नो संस्कार, संस्कृति नयाँ पुस्तालाई चासोकको माध्यमबाट हस्तान्तरण गर्ने चलन छ ।
खेतवारीमा छरपोख गरेर अन्नवाली उव्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङ्नाम मनाइने गरिएको छ ।
ADVERTISEMENT