
उर्लाबारी, ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नाराका साथ आज अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । सो अवसरमा उर्लाबारी नगरपालिकाले १८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई फाइबरको सिरक वितरण गरेको छ ।
वडास्तरीय मेलमिलाप समितिको सिफारिसमा विपन्न वर्गका प्रत्येक वडाका दुई दुई जना अपाङ्गता भएका व्यक्तिहरुलाई उक्त सामग्री वितरण गरिएको हो । नगर उपप्रमुख मीना खतिवडा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख खतिवडा, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, कार्यपालिका सदस्य कृष्णमाया कडरियालगायतले सिरक वितरण गर्नुभएको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगरपालिका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले यो दिवसको अवसरमा नगरपालिकाले वर्षेनि कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको समूह उर्लाबारीका अध्यक्ष व्यासकुमार लिम्बूले उर्लाबारी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको हितमा कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । नगर उपप्रमुख मीना खतिवडा पौडेलले अपाङ्गता भएकाहरुको स्वास्थ्य बिमा, अपाङ्गतामैत्री भवन निर्माण गरिएकाे बताउँदै अन्य विभिन्न कार्यमा नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।