उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा बृहत विज्ञान, प्रविधि तथा वास्तुकला सम्बन्धी प्रदर्शनी ‘आगमन–२.०’ हुने भएको छ ।
प्रतिष्ठानको आयोजनामा मंसिर १६ र १७ गते सो प्रदर्शनी हुने भएको हो । प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सो प्रदर्शनीको बारेमा जानकारी गराइएको छ । विद्यार्थीले तयार गरेका विज्ञान तथा प्रविधिसँग सम्बन्धित ४० वटा स्टल रहने उहाँले जानकारी दिनुभयो । विद्यालय तथा कलेज स्तरका विद्यार्थीहरुलाई इन्जिनियरिङ, प्रविधि तथा वास्तुकलाका नवीनतम् प्रयोगहरुको ज्ञान प्रदान गर्ने हेतुले प्रदर्शनीको आयोजना गरिएको कार्यकारी निर्देशक अर्यालको भनाई छ । उर्लाबारी–३ स्थित मदन भण्डारी कलेज अफ इन्जिनियरिङ परिसरमा हुने प्रदर्शनीमा झापा, मोरङ र सुनसरी जिल्लाका एक सय वटा प्राविधिक तथा विज्ञान कलेज र ५० वटा विद्यालयलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो । विद्यार्थीहरुको प्रतिभालाई कदर गर्न साथै उनीहरुलाई हौसला प्रदान गर्न प्रतिष्ठानले प्रदर्शनीका विभिन्न विधामा विद्यार्थीलाई पुरस्कृत गर्ने जनाएको छ । उत्कृष्ट डिजाइन, उत्कृष्ट कन्सेप्ट, उत्कृष्ट प्रस्तुतिकरण र पपुलर च्वाइस विधामा पुरस्कार घोषणा गरिएको छ । प्रदर्शनीमा ६ हजारभन्दा बढीले अवलोकन गर्ने जनाइएको छ ।
ADVERTISEMENT