मिक्लाजुङ, मोरङको मिक्लाजुङ गाउँपालिकाको पहलमा ईलाका प्रहरी कार्यालय, मधुमल्लाले नयाँ महिन्द्रा स्कार्पियो गाडी प्राप्त गरेको छ।
गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले स्थानीय सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धतासहित नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवर र राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग छलफल गरेका थिए।
सो छलफलपछि प्रहरी प्रधान कार्यालय, काठमाडौंले ईलाका प्रहरी कार्यालय, मधुमल्लालाई सवारी साधन उपलब्ध गराउने निर्णय गरेको थियो। यसै निर्णयका आधारमा नयाँ स्कार्पियो गाडी थप ४ जना प्रहरी जनशक्तिसहित मङ्गलबार राति करिब ११ बजे मधुमल्ला आइपुगेको हो।
गाउँपालिकाको पहल र प्रहरी प्रधान कार्यालयको सहकार्यबाट प्राप्त यो गाडीले ग्रामीण क्षेत्रका नागरिकलाई शीघ्र र प्रभावकारी सेवा दिन प्रहरीलाई थप सक्रिय र सशक्त बनाउने अपेक्षा गरिएको छ।
यस अवसरमा अध्यक्ष राईले स्थानीय सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउन निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे। स्थानीय सुरक्षा, सेवा र शान्ति कायम गर्न प्राप्त सहयोगले ईलाका प्रहरी कार्यालय, मधुमल्लालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।