उर्लाबारी । मोरङको उर्लाबारीमा असोज ३ गते सातौँ संस्करणको उर्लाबारी रनको तयारी अन्तिम चरणमा पुगेको छ ।
संविधान दिवसको अवसरमा उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चले हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्ष पनि मञ्चले सातौँ संस्करणको उर्लाबारी रन २०८१ कार्यक्रम गर्दैछ ।
संस्थाका अध्यक्ष प्रेम बोहोराले यसपटक १ हजार ५ सय जना धावकहरूको सहभागिता हुने अपेक्षा गरिएको जानकारी दिनुभयो । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मुख्य नाराका साथ आयोजना गरिने यस प्रतियोगितामा खुलातर्फ पुरुष र महिला दुवैले ३०÷३० हजार, दोस्रो स्थानमा १५÷१५ हजार, र तेस्रो स्थानमा १०÷१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
भेट्रानतर्फ यस वर्ष केवल पुरुष धावकहरूको मात्र सहभागिता रहने छ । गत वर्ष महिला धावकहरूको पनि सहभागिता रहेको थियो । भेट्रान पुरुषको दौडमा, पहिलो स्थानमा १० हजार, दोस्रो स्थानमा ७ हजार र तेस्रो स्थानमा ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । खुला र भेट्रानतर्फ १० किलोमिटरको दौड हुनेछ ।
१५ वर्षमुनिका बालबालिका धावकहरूको लागि ५ किलोमिटरको दौड आयोजना गरिने छ । यसमा महिला र पुरुष दुवैतर्फ प्रथमले ५÷५ हजार, दोस्रोले ३÷३ हजार, तेस्रोले २÷२ हजार, र चौथोले १ ÷ १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यसपटक, उर्लाबारीका १५ वर्ष मुनिका रनरहरूको लागि छुट्टै दौड प्रतियोगिता पनि आयोजना गरिने छ । यसमा पुरुष र महिला दुवैतर्फ, पहिलो हुनेलाई ४÷४ हजार, दोस्रो हुनेलाई ३÷३ हजार र तेस्रो हुनेलाई १ ÷१ हजार रुपैयाँ पुरस्कार दिइनेछ । साथै, उनीहरुलाई मेडल र प्रमाणपत्रले पनि प्रदान गरिने छ । आयोजकका अनुसार उर्लाबारी रनको तयारी तीब्र गतिमा भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय