
मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा डेंगु रोग सम्बन्धी एक दिने जनचेतना अभिवृद्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित यस कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेल र साहारा नेपालका कार्यक्रम संयोजक पबन राईले डेंगु रोगबारे जानकारी दिँदै यसका कारण, लक्षण र रोकथामका उपायहरूबारे सहभागीहरूलाई विस्तृत रूपमा प्रस्ट पारेका थिए। पोखरेलले बताए अनुसार डेंगु रोग एडिस एजिप्टाइ जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । जसले उच्च ज्वरो, टाउको दुखाइ, मांसपेशी र हाडजोर्नी दुखाइ तथा केही अवस्थामा रक्तस्राव गराउँछ।
पोखरेलले भने, “डेंगुको नियन्त्रणका लागि सफा वातावरण कायम राख्नु र लामखुट्टे उत्पन्न हुने स्थानहरूको नष्टिकरण अत्यन्तै आवश्यक छ।”
कार्यक्रममा सहभागीहरूलाई डेंगु विरुद्ध जनचेतना फैलाउन विभिन्न रणनीतिहरू बनाउनुपर्ने निर्णय गरिएको थियो। सहभागीहरूले लामखुट्टेको बासस्थान नष्ट गर्न, घर अगाडि सफा राख्न र जनचेतनाका कार्यक्रमहरू निरन्तर गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल, लेखा अधिकृत सुशील बास्तोला, शिक्षा शाखा अधिकृत काशिनाथ खनाल, वडाध्यक्षहरू खडि मगर, सुशील राज चौहान, मेघनाथ तामाङ, सेमन्त राज दाहाल, विशाल राई, सन्तोष मगर, पूर्णबहादुर कुँवर (प्रवेश), वडासदस्यहरू, र अन्य स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।