उर्लाबारी, उर्लाबारी–४ आदर्श टोलस्थित पाथीभरा भजन कीर्तन मण्डलीले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आज सप्तकोशी बोर्डिङ स्कुलको प्राङ्गणमा विविध कार्यक्रम गरिएको हो । मण्डलीकी अध्यक्ष रुक्मिणी भट्टराईको अध्यक्षता र उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिलाहरुले तिज गीतमा नाचगान गरेर मनोरञ्जन लिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख पौडेलले आधुनिकताका नाममा पछिल्लो समय तीजमा विकृति भित्रिएको भन्दै मौलिकता बचाउनुपर्ने बताउनुभयो । नेपाली कला संस्कृतिको जगेर्ना गर्न चुनौती बनेको भन्दै उहाँले महिलाहरूको महान यो पर्व तडकभडक नभइ सौहार्द वातावरणमा मनाउन आग्रह गर्नुभयो ।
यस्तै, विशिष्ट अतिथि उर्लाबारी–४ का वडाध्यक्ष कल्याणकुमार राईले मौलिकता हराउन नदिन र तिजलाई भड्किलो बनाउन नदिन अरुको सिको गर्न त्याग्नुपर्ने बताउनुभयो । सप्तकोशी बोर्डिङ स्कुलका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईले पाथीभरा भजन कीर्तन मण्डलीले धार्मिक जागरणका साथै सामाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । तिज विशेष कार्यक्रमको अवसरमा महिलाहरुका लागि म्युजिकल चेयर्स र पुरुषहरुका लागि हण्डी फुटाउने प्रतियोगिता राखिएको थियो । मण्डलीकी उपाध्यक्ष डम्बरा भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव रेनुका निरौला भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय