उर्लाबारी। निराशाजनक शेयर बजारलाई माथि उकास्न नेपाल धितोपत्र बोर्डले विभिन्न पेशा व्यवसायका व्यक्तिहरुसँग उर्लाबारीमा छलफल चलाएको छ ।
शनिबार उर्लाबारी स्थित उर्लाबारी उद्योग बाणिज्य संघको सभा हलमा धितोपत्र बोर्डको सहजीकरणमा धितोपत्र बजार सम्बन्धी लगानी कर्ता, शिक्षा तथा सचेतना कार्यक्रम आयोजना भएको छ ।
उर्लबारी उद्योग वाणिज्य संघको ब्यवस्थापन , नेपाल उद्योग बाणिज्य महासंघको समन्वय र नेपाल धितोपत्र बोर्डको आयोजनामा भएको कार्यक्रममा राजनीतिककर्मी, उद्योगी, ब्यवसायी, कृषि व्यवसायी, सहकारी अभियन्ता, शिक्षासेवी तथा विभिन्न संघ–संस्थाका अगुवाहरुको उपस्थिति रहेको थियोे । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुर कृष्ण वैद्यले
धितोपत्रका बारेमा धेरै मानिसहरू लाभान्वित हुन सकुन् भनेर ७७ वटै जिल्लामा यस किसिमका कार्यक्रमहरू लाने बताएका छन्। उनले विद्यार्थीहरुलाई यस्तो विषयमा सिकाएर विदेशीने युवाहरुलाई रोक्नुपर्ने अवस्था आएको पनि बताएका छन्। हाल नेपालमा ६३ लाख सेयर कारोबारीहरू रहेको र यसलाई एक करोड पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ।
कार्यक्रममा सहजीकरण कर्ता नेपाल धितोपत्र बोर्डका निर्देशक गणेश श्रेष्ठले धितोपत्र, वित्तीय साक्षरता लगायतका बारेमा जानकारी गराएका थिए। उनले नेपालमा ७० दशमलव ६ प्रतिशत साक्षरता भएपनि वित्तीय साक्षरता भने ५७ दशमलव ९ प्रतिशत मात्र रहेको दावी गरेका छन् । उनले शेयर बजारमा बागमती प्रदेशका विभिन्न व्यापारी र व्यक्तिहरुको मात्र लगानीमा हावी रहेको बताएका छन् ।‘शेयर लगानी गर्दाको फाइदाका विषयमा नागरिकलाई कम जानकारी छ’, श्रेष्ठले भने –‘बागमतीपछि कोशी प्रदेशका नागरिकले थोरै भएपनि शेयरमा लगानी गरिरहेका छन् । प्रदेशका धेरै जिल्लाका नागरिकहरु शेयर बजारबारे अनविज्ञ छन् । निश्चित मापदण्ड पुरा गरे बैँकमा ऋण लिएको व्याज भन्दा शेयर कारोवार गरे फाइदा हुनेछ ।’ उनले वित्तीय साक्षरताको संख्या बढाएर घर सञ्चालनको क्रममा ब्यक्तिले बजेट बनाएर वार्षिक कार्यक्रम सञ्चालन गर्न सके हरेक परिवारले समृद्धि हासिल गर्न सक्ने बताएका छन्। उर्लबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका महासचिब हेमराज गुरुङले गरेका थिए ।
ADVERTISEMENT