उर्लाबारी। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसमा सोमबार नेपालका कम्युनिष्ट पार्टी ( एकीकृत समाजबादी) ले मोरङको उर्लाबारीमा दीप प्रज्वलन गरी योगदानको सम्झना गरेको छ।
१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ सालमा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा एकीकृत समाजबादी उर्लाबारी अध्यक्ष डीबी थापाले बताएका छन् ।
पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) स्थापना गरेको उनले बताएका छन् ।
नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।
राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भएको जानकारहरु बताउंछन् । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाकाे जागिर खोसिएको थियो ।
२०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएको बताइन्छ । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता मानिन्छन् । त्यसैले सबै कम्युनिष्ट पार्टीहरुले उनलाई सम्झने गर्दछन्।
सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय