उर्लाबारी । मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१० डाँस खोलामा बिहीबार साँझ दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०६३ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४) प ७८७५ नम्बरको स्कुटरलाई साँझ ६ः१० बजेतिर ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट स्कुटर चालक इलामको चुलाचुली गाउँपालिका–५ का ३३ वर्षीय सुभाष राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर मृत्यु भएको हो । दुर्घटनालगत्तै फरार बनेका टिपर चालकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । चालक रंगेली नगरपालिका–२ का ३५ वर्षीय अमृतलाल उराउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।