उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमु लिम्बुको प्रमुख आतिथ्यतामा आयोजित एक भव्य कार्यक्रमबीच एसईई उत्तिर्ण २ सय २९ जना विद्यार्थीहरुलाई बधाई तथा शुभकामनासहित उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको हो । सो कार्यक्रममा ३.६ जिपिए भन्दा बढी ल्याउने विद्यार्थीहरु धिरज पण्डित र प्रज्ञा बराइलीलाई विद्यालयको तर्फबाट ५÷५ हजार नगद प्रदान गरिएको थियो भने व्यवस्थापन समिति अध्यक्ष लिम्बुले आफ्नो व्यक्तिगत तर्फबाट जनही २ हजार ५ सय नगद प्रदान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक रुद्रप्रसाद न्यौपानेले गर्नुभएको थियो । सो अवसरमा उर्लाबारी मिस एसईई २०८० की विजेता रुमा निरौलालाई सम्मान गरिएको छ । २०८० सालको एसईईमा उर्लाबारीका सामुदायिक विद्यालयको निराशजनक नतिजा आउँदा राधिकाले भने उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । एसईईमा ३.६ जिपिए भन्दा माथि २ जना, ३.२ जिपिए भन्दा माथि ८१ जना, २.८ जिपिए भन्दा माथि १ सय ५ जना, २ जिपिए भन्दा माथि ७ जना विद्यार्थीले ल्याएको अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । ३ सय ३६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । जसमध्ये २ सय २९ जना सफल भएका छन् भने १ सय ६ जनाले मौका परीक्षा दिन पाएका छन् । उर्लाबारी–६ मा रहेको यस विद्यालय २०२५ सालमा स्थापना भएको थियो । राधिकामा शिशु कक्षादेखि १२ कक्षासम्म र प्राबिधिक तर्फ कृषि बिषयको पढाई हुँदै आएको छ । यस विद्यालयमा २ हजार ४ सय ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा ४ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै ब्लग छ ।
कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन, शिक्षा, बाली विज्ञान, कानुन र विज्ञानको पढाइ भइरहेको प्रधानाध्यापक कुमार पोखरेलले जानकारी दिनुभयो । २०६६ सालदेखि उच्च मावि तहको पढाइ सुरु भएको थियो । शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रममा यो विद्यालय पनि छनोट भएको थियो । यस विद्यालयमा कक्षा ११ र १२ मा ५ सय ५० जना विद्यार्थी अध्ययरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय