दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारी–३ मा रहेको खेलमैदानका विषयमा मंगलबारे युवा क्लबले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीले सरकारसँग लिजमा लिएर प्रयोग विहीन बनाएको र सम्झौताअनुसारको काम नगरेको भन्दै मंगलबारे युवा क्लबको अगुवाईमा हस्ताक्षर अभियान थालिएको हो । सम्झौताको विवरण सार्वजनिक गर्न, सम्पत्तिको उचित प्रयोग सुनिश्चित गर्न र उक्त कार्य सम्भव नभए स्वामित्व नेपाल सरकारले फिर्ता लिनु पर्ने मागसहित हस्ताक्षर अभियान सुरु भएको छ ।
उक्त अभियान एक हप्तासम्म चल्ने छ । अभियानमा उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजनकुमार कडेललगायतका अन्य राजनीतिकर्मी देखि स्थानीयबासीसम्मले समर्थन गरेको अभियानका अगुवा बिजय माझीले जानकारी दिनुभयो ।
१५ बर्ष अगाडि २०६५ सालमा १३ हेक्टर जमिन प्रतिष्ठानले कृषि प्रयोजनका लागि भनेर लिजमा लिएको थियो । उक्त जमिन पाँच बर्ष अगाडिसम्म खेलकुद मैदानको रुपमा स्थानीयले प्रयोग गर्दै आइरहेका थिए । तर, पाँच बर्ष यता देखि प्रतिष्ठानले मेडिकल कलेजका निम्ति काम अगाडि बढाउने भनेर खेलमैदानलाई रोकेको तर अहिलेसम्म कम्पाउन्डको काम भन्दा केही हुन नसकेको भन्दै मंगलबारे युवा क्लबले तालाबन्दी गरेको थियो । क्लबले गरेको तालाबन्दी तोड्दै प्रतिष्ठानले चुनौती दिएपछि विभिन्न सम्बन्धित निकायमा प्रक्रियागत रुपमा समन्वयन गर्दैं विवादलाई टुंगो लगाउन अन्तिम विकल्प खोज्दै विभिन्न गतिविधिहरु गर्दै आएको र यो हस्ताक्षर अभियानले थप टेवा पुग्ने अगुवाई गर्नेहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय