
उर्लाबारी । दोस्रो अन्तर विद्यालय फुटबल प्रतियोगिता यु–१४को उपाधि राधिका मावि उर्लाबारी ६ ले जितेको छ ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा राधिका मावि उर्लाबारी– ६ को खेल मैदानमा सम्पन्न फाइनल खेलमा उर्लाबारी– ४ स्थित हिमचुली बोर्डिङ स्कुललाई शुन्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै राधिकाले नगद ५५ हजार पाएको छ भने उपविजेता हिमचुलीले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । गत जेठ १९ देखि असार १ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा उर्लाबारीका निजी र सामुदायिक गरी २६ वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दास, सशस्त्र प्रहरी वेस क्याम्प उर्लाबारीका सशस्त्र प्रहरी निरीक्षक हरि बस्नेत, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष संजिव बुढाथोकीलगायतको सहभागिता रहेको थियो । खेल समापन समारोहको सभापतित्व क्लबका अध्यक्ष दिपेन्द्र धिमालले गर्नुभएको थियो भने सचिब घनश्याम भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।