
बिराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिम तेस्रो समूहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा आज एक कार्यक्रमको आयोजना बिच उक्त तालिमको समुद्घाटन भएको हो ।
तालिम समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले प्रहरीले गरीरहेको बिपद उद्दार कार्यलाई पुनरताजगी गराउनको लागी यो तालिम दिईएको हुँदा तालिममा सिकेको ज्ञानलाई कार्य क्षेत्रमा ब्यबहारमा लागु गरी बिपदमा परेका मानिसहरुको उद्दारले नै यो तालिमले सार्थकता पाउने बताउनु भयो । प्राकृतिक तथा मानविय विपदमा जोखिम न्युनिकरणको लागि सबै प्रहरी कर्मचारीहरु परिचालन हुनु पर्ने भएपनि तालिम प्राप्त प्रहरी कर्मचारीहरुले अझ प्रभावकारी रुपमा काम गर्न सक्ने क्षमताको बिकाश गर्न उक्त तालिम दिएको बताउनु भयो ।
तालिम सम्बन्धी प्रतिबेदन पेश गर्नु हुँदै तालिमका संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले यस तालिममा समय सान्दर्भिक विपद जोखीम न्युनिकरण, विपद प्रतिकार्य र विपद पुनस्थापना सम्बन्धी सम्पुर्ण सुरक्षाका आधारभुत बिषयहरुलाई समेटिएको बताउनुभयो । कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत ३१ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको समुद्घाटन कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।