मोरङको उर्लाबारीमा १९ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ ।
नगर स्तरीय दलित समन्वय समिति उर्लाबारीको आयोजनामा आज उर्लाबारी चौकमा दिपप्रज्वलन गरी उक्त दिवस मनाइएको हो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनाकुमारी पौडेल, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दास, दलित अभियान्ता यामलाल रसाईली, समाजसेबी जयधर्म आचार्य,नगर समितिका अध्यक्ष तिलक नेपालीलगायतको उपस्थितिमा दिपप्रज्वलन गरिएको छ । नेपाल सरकारले २०६३ जेठ २१ गते भेदभाव तथा तथा छुवाछूत उन्मुलन घोषणा गरेको थियो । २०६८ देखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउन थालिएको हो ।
मुलुकी ऐन २०२० साल देखि छुवाछूत प्रथा हटाइए पनि समाजमा कायमै रहेको जातीय भेदभावलाई हटाउन गरिएको विभिन्न आन्दोलनहरुको उपलब्धिको रुपमा २०६३ सालमा छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएपनि समाजमा छुवाछूत अझै कायम रहेको छ । नेपालको संविधानको प्रस्तावनामाः वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्कि, विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागीतामूलक सिद्धान्तका आधारमा समानतामुलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । संविधानको धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ ।
संविधानको धारा ४० मा दलितको हकलाई व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । सार्वजनिक सेवालगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागीताका लागि कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ, दलित विद्यार्थीलाई प्राथमिक देखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्तिसहित निशुल्क शिक्षाको व्यवस्था गरिनेछ उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय