धनकुटा । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा सुरु भएको कोशी प्रदेशस्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा मिक्लाजुङ गाउँपालिकाले जितको सुरुवात गरेको छ ।
आज भएको खेलमा धनकुटाको सहिदभुमि गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ गाउँपालिका मोरङले जितको सुरुवात गरेको हो । खेलको ५२ औं मिनेटमा मिक्लाजुङकी सजिला राईले गरेको गोल नै निर्णायक बन्यो । उनी नै खेलको ओमेन अफ द म्याच भइन् । २०७६ मा पहिलोपटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता गरिएको र २०७९ सालमा जिल्लास्तरिय प्रतियोगितामा सीमित भएको र यो पटक पुन प्रदेशस्तरीय गरिएको हो । प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
झापाको कन्काई नगरपालिका, मोरङको मिक्लाजुङ गाउँपालिका, सुनसरीको बराहक्षेत्र नगरपालिका तथा धनकुटाको धनकुटा नगरपालिका, सहिदभुमि गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र पाख्रिवास नगरपालिकाको सहभागिता रहेको छ । धनकुटा नगरपालिका वडा नं. ७ निवासी रामकृष्ण श्रेष्ठको २०३० चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्रमाथि बम प्रहारको घटनामा निधन भएको थियो । श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालीन सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय