उर्लाबारी। उर्लाबारी नगरपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा स्थानीय ज्येष्ठ नागरिक भवनको सभाहलमा वडाका ४० जना दलित अगुवाहरुलाई २ दिने कानुनी साक्षरता सम्बन्धी तालीम सकिएको छ। उभार मिडिया प्रालिको आयोजना र रिडेफ नेपालका अध्यक्ष उमेश बिश्वकर्माको सहजीकरणमा सम्पन्न भएको हो।सो तालीममा सहजकर्ता बिश्वकर्माले राज्य र नागरिकको सम्बन्ध, नागरिकका अधिकार र कानुनको शासनसित जोडिएका केही सवाललाई उल्लेख गरेका थिए।
उनले राज्य र नागरिकबीचको सम्बन्ध घरेलु कानुन तथा अन्तर्राष्ट्रिय कानुनका माध्यमद्वारा निर्दिष्ट भएकाे बताउँदै नेपालको संविधानले ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र रहेको बताएका छन्।
नेपालको संविधानले मौलिक हकको प्रत्याभूति गरेको, समानताको हक, न्यायसम्बन्धी हक, दलितको हकलगायत एकतीसवटा मौलिक हक संविधानमा प्रत्याभूत गरिएकाे उनले बताएका छन्। उक्त मौलिक हकमध्ये छुवाछूत तथा भेदभावविरुद्धको हक एक महत्वपूर्ण हक भएको उनले जानकारी दिएका छन्।
उक्त हकले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गर्न नपाइने व्यवस्था मौलिक हकका रूपमा राखिएको छ। कसैले पनि कुनै पनि व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतका आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता र घृणामा आधारित विचारको प्रचारप्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गरेमा यसलाई गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने व्यवस्था गरेको उनले बताएका छन् ।
उनले यस ऐनले प्रत्येक व्यक्तिको अधिकार र अवहेलना वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाइ त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिको व्यवस्था गरी समतामूलक समाज सिर्जना गर्ने उद्देश्य राखेकाे बताएको तिलक नेपालीले बताएका छन्। उक्त कार्यक्रममा वडा अध्यक्ष कल्याण कुमार राई, वडा सदस्य तथा कार्यपालिका सदस्य कृष्ण माया कडरिया, वडा सदस्यहरु शेखर दाहाल,अम्रिता दास, सुरेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको कार्यक्रम अध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय