
उर्लाबारी । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीको आयोजनामा मोरङको उर्लाबारीमा ‘दोस्रो फुड फेस्टिवल तथा साँस्कृतिक प्रबद्र्धन कार्यक्रम २०८१’ को आयोजना गरिने भएको छ ।
बैशाख २२ गतेदेखि जेठ २ गतेसम्म फुड फेस्टिबलको आयोजना गरिने भएको आज आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । उर्लाबारी–४ मा हुने फुड फेस्टिबललाई महोत्सवकै रुपमा मनाउने तयारी भइरहेको आयोजकले जनाएको छ । संस्थाका अध्यक्ष समशेर लिम्बूले उर्लाबारी नगरपालिकासँगको सहकार्यमा जनजातिहरुको संस्कृति, संस्कार, भेषभुषा, झाँकी झल्काउने तथा परापुर्वकालदेखिको प्राकृतिक जडीबुडी सहितको खानापिनहरुको प्रवद्र्धन र बजारीकरणका लागि फेस्टिवलको आयोजना गरिएको जानकारी दिनुभयो । आदिबासी जनजाति साथै अन्य जातिको पनि पहिचान जोडिएका कला, संस्कृति प्रस्तुत गरिने उहाँको भनाई छ । विभिन्न जातजाति मिलेर सद्भावका साथ बसेका उर्लाबारीबासीबीच सद्भाव र एकताका लागि पनि फुड फेस्टिवल महत्वपूर्ण हुने उहाँको भनाई छ । फुड फेस्टिबलमा राष्ट्रिय कलाकारहरुको पनि सहभागिता रहने छ । गायिका ज्योति मगर, त्रिसला गुरुङ, रचना रिमाल, मन्त्र ब्याण्डलगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने उहाँले बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीले विगत लामो समयदेखि स्थानीय सरकारसँग साझेदार र सहकार्यमा पछाडी पारिएको सिमान्तकृत तथा लोपउन्मुख आदिवासीहरुको हकहितमा काम गर्दै आएको छ । फेस्टिवलमा १७ जातिको प्राकृतिक जडीबुटीसहितको खानपिन तथा आहाराको संस्कारसँगैको स्टलसहित उनीहरुको भेषभुषाको प्रर्दशन गरिने अध्यक्ष लिम्बूको भनाई छ । उहाँले सबै जनजातिहरुलाई समेटेर एकैथलोमा बृहत साँस्कृतिक कार्यक्रमसहित फुड फेस्टिबल गरिन लागेकोले भव्य र सभ्य रुपमा सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । फेस्टिवलले जनजातिहरुमा आपसी सद्भाव र भाईचारा बढाउने उहाँले उल्लेख गर्नुभयो ।