
उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित पञ्चावती हस्पिटलमा महिलाहरुको स्तन तथा पाठेघर क्यान्सर रोकथामका बारेमा परामर्श र स्क्रीनिंग गरिएको छ ।
बुधबार विराट टिचिङ अस्पताल विराटनगर र पञ्चावती हस्पिटल उर्लाबारीको संयुक्त आयोजनामा निःशुल्क स्तन तथा पाठेघर क्यान्सर रोकथामका बारेमा परामर्श र स्क्रीनिंग गरिएको हो । उर्लाबारीका १ सय ३० जना भन्दाले निःशुल्क सेवा लिएका छन् । महिलाहरुलाई स्तन तथा पाठेघर क्यान्सर रोकथामका बारेमा पनि जानकारी दिएको थियो । उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हस्पिटलकी सञ्चालिका तथा उर्लाबारी वडा नं. ६ की सदस्य दुर्गावती लिम्बू, बानु सुब्बालगायतले बोल्नुभएको थियो । कार्यक्रम हस्पिटलका अध्यक्ष बालचन्द्र सुब्बाको सभापतित्वमा भएको थियो । २०७८ सालबाट पञ्चावती हस्पिटल संचालनमा आएको थियो । बालबालिकालाई मनोपरामर्शदेखि बालबालिकाको रोगअनुसार सबैखाले शल्यक्रिया गरिनेछ । अनुभवी तथा बच्चाको मनोविज्ञान बुझेका चिकित्सक, नर्सलगायत १६ जनाको जनशक्तिले २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ । विशेष ओपीडीमार्फत बाल मधुमेह, बाल मुटुरोग, उच्च जोखीम नवजात शिशु सेवा र हाडजोर्नी उपचार सेवा उपलब्ध रहेको अध्यक्ष बालचन्द्र सुब्बाले जानकारी दिनुभयो । हस्पिटलमा हाल १५ शैय्या रहेका रहेका छन् ।