
उर्लाबारी । विश्व वृक्षारोपण दिवसको अवसरमा मारवाडी युवा मञ्च उर्लाबारीले विरुवा रोप्ने कार्यक्रम गरेको छ ।
उर्लाबारी–३ मा रहेको मंगलबारे वन सव डिभिजन कार्यालयले उपलब्ध गराएका बिरुवाहरु उर्लाबारी नगरपालिका वडा नं. ७ को कार्यालयसहितमा मञ्चले रोप्ने कार्य गरेको हो । अम्बक, रुद्राक्ष, कल्की, निमलगायतका विरुवा वडा कार्यालयसहित नमूना बाल गृह, मैथिली समाज सेवा समितिको परिसर, मठमन्दिरलगायतमा विरुवा रोप्ने कार्य गरिएको अध्यक्ष विजय बाहेतीले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय मारवाडी यूवा संगठनको वार्षिक कार्यक्रम अनुसार मारवाडी यूवा मञ्च उर्लाबारीले पनि विरुवा रोप्ने काम गरेको उहाँले बताउनुभयो ।
उर्लाबारी नगरपालिका वडा नं ७ का अध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्यतामा विरुवा रोप्ने कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा वडा नं ७ का वडा सदस्य सन्तोष निरौला, मैथिली समाज सेवा समितिका अध्यक्ष पवन चौधरी, मञ्चका वोर्ड सदस्य एवं पदाधिकारीहरुको सहभागी रहेको थियो । मारवाडी युवा मञ्च उर्लाबारीले सामाजिक कार्यलाई निरन्तर अघि बढाइरहेको मञ्चका महासचिव किसन अटलले जानकारी दिनुभयो ।