
उर्लाबारीका ९ वटै वडामा पशुबिमा कार्यक्रम सञ्चालन भइरहेको छ । नगरपालिकाले निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गरेको हो । व्यवसायिक पशुपालक किसान तथा विपन्न किसानले पालेका उन्नत जातका गाई र भैंसीको पशु बीमा भइरहेको छ । यसैक्रममा वडा नं. ९ मा सञ्चालन भइरहेको कार्यक्रमको आज नगर उपप्रमुख मीना खतिवडा पौडेलले अनुगमन गर्नुभएको छ । नगर उपप्रमुख पौडेलले कृषि क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएको बताउनुभयो । नगरको पशुपन्छी शाखाका अनुसार पशु बीमाका लागि विभिन्न संघसंस्थासँग सम्झौता गरी कार्यक्रम अघि बढाइएको हो ।