
उर्लाबारी । उर्लाबारीमा जारी पाँचौ मेयर कप फुटबल प्रतियोगिता २०८० को दोस्रो सेमीफाईनल खेलमा वडा नम्बर ३ विजयी भएको छ । वडा नम्बर ३ र वडा नम्बर ९ बीच बिहीबार भएको खेलमा टाइब्रेकरमा ३–२ को अन्तरले वडा नम्बर ३ विजयी भएको हो ।
खेलको ६१ औँ मिनेटमा वडा नम्बर ३ का विदुर रिजालले एक गोल गरेर आफ्नो टीमलाई अग्रता दिलाएका थिए । लगत्तै ९ नम्बर वडाका अविशेक लिम्बुले ६५औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा पुर्याएका थिए ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगीता चैत ३ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको थियो । उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा संचालन भएको उक्त प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिनुभयो । पाचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिामा उर्लाबारी नगरपालिका मुख्य प्रायोजक रहेको छ । प्रतियोगिताको फाईनल खेलमा वडा नम्बर ३ र वडा नम्बर ६ बीच शनिबार दिउँसो ३ बजेदेखि संचालन हुने आयोजकले बताएको छ ।