
उर्लाबारी । मोरङको उर्लाबारी–६ मा रहेको मोरङ मोडल आवासीय माध्यमिक विद्यालय कक्षा ३, ४ र ५ का विद्यार्थीहरुले नमूना बाल गृहमा सहयोग गरेका छन् ।
विद्यालयमा आयोजना गरिएको फुड फेस्टिबलबाट बचत भएको रकमबाट मंगलबार बाल गृहलाई सहयोग गरेका हुन् । उर्लाबारी–७ मा रहेको नमूना बाल गृहमा चामल, दाल, तेललगायतका खाद्यान्न सामग्री विद्यार्थीहरुले वितरण गरेको विद्यालयका शैक्षिक संयोजक भूपाल काफ्लेले जानकारी दिनुभयो । विद्यार्थीहरु आश्रम पुगेर त्यहाँको अवस्थाका बारेमा समेत जानकारी लिएका छन् ।
विद्यार्थी एन्जिला सापकोटाले बचत भएको रकमबाट नमूना बाल गृहमा सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल सन्दिप पौडेललगायतको समेत सहयोग हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो । बाल गृहका आमा सुशिला थापाले सहयोग विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । सो बाल गृह प्रदेशकै नमूना बाल गृहको रुपमा स्थापित रहेको छ । यस गृहमा नेपालभरीका ५६ जना बालबालिका आश्रित रहेका छन् ।