
उर्लाबारी । मोरङको उर्लाबारी–३ मा रहेको सनसाइन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको ३३ औं बार्षिक उत्सव तथा अभिभावक दिवसमा विद्यार्थीहरुले आफ्ना प्रतिभा देखाएका छन् ।
आइतबार उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनादेबी पौडेल खतिवडाको प्रमुख आतिथ्यता एबं विद्यालयका निर्देशक तथा प्रिन्सिपल सुरेन्द्र सुबेदीको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा देखाएका हुन् । अभिभावकको उल्लेख्य उपस्थितिमाझ विद्यार्थीले रचनात्मक नृत्य, गीत, प्रहसन तथा नाटकमार्फत आ–आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका छन् । प्ले ग्रुपदेखि कक्षा १० सम्मका कक्षाहरू सञ्चालन गर्दै आएको सो विद्यालयमा हाल ५ सय ५० बढी विद्यार्थी अध्ययरत रहेका छन् ३० जना शिक्षक कार्यरत रहेको विद्यालयका निर्देशक एबं प्रिन्सिपल सुरेन्द्र सुबेदीले जानकारी दिनुभयो ।
सनसाइनबोर्डिङ स्कुलले विद्यार्थीको व्यवस्थापन र शैक्षिक गतिविधि उत्कृष्ट ढंगले सञ्चालन गर्दै आएकोमा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनादेबी पौडेल खतिवडाले खुसी व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीको सबै प्रकारका प्रतिभा प्रस्फुटन गराउने कार्यमा विद्यालयलाई अझै सफलता मिलोस् भन्ने कामना पनि गर्नुभयो । विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा दिन आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्याव्सन उर्लाबारीका सचिव कुवेर न्यौपाने, अभिभावक हरिबाबु दाहाललगायतले बोल्दै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको र समय अनुसार शिक्षालाई परिमार्जित गर्दै लैजानु पर्ने बताउनुभएको छ । सोही अवसरमा विद्यालयका पूर्व प्रिन्सिपल हर्कबहादुर खड्का र प्रेमकुमार बुढाथोकीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल भक्त बस्नेतले स्वागत मन्तब्य राख्नुभएको थियो भने विद्यार्थीहरुले नृत्य, गायन तथा नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति दिएर उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।